मेयर महिला कप: तुलसीपुर, वीरेन्द्रनगर र गोकर्णेश्वर विजयी सुरुआतको दाउमा

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ५३


काठमाडौं। उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा शुक्रबार तीन खेल हुनेछन्।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने प्रतियोगिताको नवौं दिन हुने पहिलो खेलमा बिहान ९ बजे समूह एफ को हेटौंडा उपमहानगरपालिका र तुलसीपुर नगरपालिकाबीच हुनेछ।

हेटौंडा यसअघि पहिलो खेलमा गैंडाकोट नगरपालिकासँग १-० ले पराजित भएको थियो। तुलसीपुरको यो पहिलो खेल हो। गैंडाकोटले एक खेलबाट तीन अंक जोडिसकेको छ।

दोस्रो खेल दिउँसो १२ बजे समूह जी अन्तर्गत पोखरा महानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबीच हुनेछ।

यस समूहको पहिलो खेलमा पोखरा कैलालीको गोदावरी नगरपालिकासँग ६-० ले पराजित भएको थियो। यो जितसँगै कैलालीको गोदावरीले तीन अंक जोडेको छ। वीरेन्द्रनगरको भने यो पहिलो खेल हो ।

आजको अन्तिम खेल दिउँसो ३ बजे धनगढी उपमहानगरपालिका र गोकर्णेश्वर नगरपालिकाबीच हुनेछ। धनगढि लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ।

धनगढीले पहिलो खेलमा धनकुटा नगरपालिकालाई ५–० ले हराउँदै तीन अंक जोडिसकेको छ। गोकर्णेश्वरको भने समूह चरणको यो पहिलो खेल हो।

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।


प्रतिक्रिया दिनुहोस्