प्रिमियर लिगमा  म्यानचेस्टर युनाइटेडको दुई हजार गोल पूरा, लिभरपुल विजयी

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १२ : ५६


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई ३–१ ले पराजित गरेको छ ।

नर्विचको मैदानमा युनाइटेडलाई जित दिलाउन स्कोट टोमीने, मार्कोस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । नर्विचका ओनेल हर्नान्डेजले एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा स्कोटले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए ।

स्कोटको गोलसँगै युनाइटेडले प्रिमियर लिगमा बिपक्षि टिमविरुद्ध २ हजार गोल पुरा गर्दै कीर्तिमान बनाएको छ । युनाइटेड लिगमा २ हजार गोल पुरा गर्ने पहिलो क्लब बनेको छ ।

जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । युनाइटेडले १० खेलमा १३ अंक जोडेको छ । पराजित नर्विच ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा लिभरपुलले टोटेनहमलाई २–१ ले पराजित गरेको छ । एनफिल्डमा लिभरपुलले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरी ल्याए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । जितसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । अपराजित रहेको लिभरपुलले १० खेलबाट २८ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले अघि रहेको छ  । पराजित टोटेनहम १२ अंक जोडेर लिगको ११ औं स्थानमा छ  । 


प्रतिक्रिया दिनुहोस्