साढे २ करोड टाउकाको मूल्य तोकिएका बग्दादी मारिएको ट्रम्पद्धारा पुष्टि

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  २ : ५४


वासिङ्टन । आतंकवादी संगठन इस्लामिक स्टेटका नेता अबु बाकर अल–बग्दादी अमेरिकी हवाई कारबाहीमा मारिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गर्नु भएको छ । 

आइबार आयोजित एक विशेष घोषणामा ट्रम्पले वाशिङ्टनबाट सबैभन्दा खतरनाख आतंकवादी मानिएका बग्दादी अमेरिकी सेनाको विशेष अप्रेशनमा मारिएको बताउँनु भएको छ ।

उहाँले वर्षौदेखि अमेरिकाले बग्दादीको खोजी गरिरहेको र आफ्नो प्रशासनले त्यसमा सफलता पाएको बताउँनु भयो ।

विश्वमै सर्वाधिक खोजीको व्यक्तिको सूचीमा रहेका बग्दादी सिरियाको इड्लिबमा अमेरिकी सेनाको कारबाहीमा मारिएको बताइएको छ । 

एकजना अमेरिकी अधिकारीले एसोसिएटेड प्रेसलाई बग्दादी सिरियाको इड्लिब प्रान्तमा मारिएको बताएका छन् । तर उक्त कारबाहीको विस्तृत विवरण भने प्राप्त भएको छैन । 

उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता भएलगत्तै इस्लामिक स्टेटको प्रभाव बढ्ने अनुमान भइरहेका बेला त्यसै संगठनका प्रमुख नेता मारिएको खबर सार्वजनिक भएको थियो । कुनै समय इराक, सिरिया समेतको ठूलो भूभागमा कब्जा जमाउन सफल इस्लामिक स्टेटले पछिल्लो समय पराजय भोगेको थियो ।

अल–बग्दादीले विगत पाँच वर्षदेखि इस्लामिक स्टेटको नेतृत्व गरिरहेका थिए । चरमपन्थी इस्लामिक यस संगठनले घाँटी छिनालेर व्यक्तिको क्रुरतापूर्वक हत्या गर्ने भन्दै बदनाम भएको थियो । इराक र सिरियामा प्रभाव राखेको यस संगठनमा पश्चिमा मुलुकका व्यक्तिसमेत लाखौं मानिस आबद्ध भएका थिए । 

यो संगठनका समर्थकहरुले युरोप र अमेरिकी भूभागमा आतंकवादी आक्रमण गरेका थिए । इस्लामिक स्टेटले पछिल्लो समय विमान अपहरण जस्ता ठूला आक्रमणको साटो साना स्तरका आक्रमणहरु गरेर जनजीवन त्रसित बनाउने गरेका थिए ।

अमेरिकाले बग्दादीको टाउकोको मूल्य २ करोड ५० लाख तोकेको थियो । पछिल्लो समय गत महिना एउटा अडियो रेकर्ड सार्वजनिक गर्दै आफ्ना लडाकूलाई आफू र आफ्ना परिवारका सदस्यलाई बन्दी जीवनबाट मुक्त गर्न अपिल गरेका थिए । यो उनको गत अप्रिल यताको पहिलो थियो । 


प्रतिक्रिया दिनुहोस्