सिस्नुपानी नेपालको देउसी भैलोमा महराको काण्डलाई लहराको संज्ञा !

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १ : ०८


काठमाडौं । सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यंग्य कस्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा यस वर्ष पनि सिस्नुपानी नेपालले काठमाडौंको प्रज्ञा भवनमा समसायमिक विषयमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको हो ।

आईतबार साँझ आयोजना गरिएको सो देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भिआईपी अरु पनि कति महराहरु होलान भनि व्यंग्य कसिएको छ । त्यसैगरी लाउडा काण्डमा सबै राजनीतिक दलहरुले मिलेर भ्रष्टाचार गरेको पनि दावी गरिएको छ ।

सिस्नुपानी नेपालको सो कार्यक्रममा कवि अर्जुन पराजुलीले सहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरुप्रति व्यक्त गर्नु भएको छ ।

उहाँले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको गुन्जयमान भएको थियो ।

यता, हास्य कलाकार मनोज गजुरेलले चिनिया नागरिकबाट हुने तस्करीप्रति संकेत गर्दै जोगीको भेषमा व्यंग्य गर्नु भएको थियो ।

उहाँले ‘उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डीकेट बाँधो’ भनेर व्यंग्य कस्दा कार्यक्रममा हाँसोको फोहोरा छुटेको थियो ।

सिस्नुपानी नेपालले दुई दशकयता समसामयिक विषयहरुमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम संचालन गर्दै आएको छ ।

तलको भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्