आज देशभर थपिए ५९१ कोरोना संक्रमित

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : ०८


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ५९१ सङ्क्रमित देखिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा ११ हजार ३५५ जनामा कोरोना परीक्षण गर्दा ५९१ जनामा सङ्क्रमण पाइएको हो।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २३६ पुगेको छ।

पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन्। पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन्। सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ। सङ्क्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ।

पछिल्लो २४ घण्टामा ६६४ जनाले सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार ७८९ पुगेको छ।

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।३ प्रतिशत रहेको छ। यसैगरी आज कोरोना सङ्क्रमणबाट दुई जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३८२ जनाको निधन भएको छ।

आज एक लाख एक हजार ४७५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ८६ लाख ५५ हजार २१५ पहिलो मात्रा र ६८ लाख ६५ हजार ६६५ पूर्ण मात्राको खोप लगाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्