सुर्खेतमा बलात्कृत बालिकाको स्वास्थ्य अवस्था गम्भीर

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ०९


सुर्खेत। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन्। जाजरकोटको नलगाड नगरपालिका १ की अन्दाजी १४ वर्षीया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा बलात्कृत भएकी हुन्।

बलात्कृत बालिकाको अवस्था गम्भीर भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले बताए।

बालिका अचेत अवस्थामा फेला परेको र अत्यधिक रक्तस्राव भइरहेको प्रहरी निरीक्षक शर्माले बताए। नगर अस्पतालमा उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट बलात्कार भएको देखिएको प्रहरी निरीक्षक शर्माको बताए।

१४ वर्षीया बालिकालाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

पीडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय राडीमा ठाडो उजुरी दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।


प्रतिक्रिया दिनुहोस्