अमेरिकी सेना युद्ध अभ्यास गर्न ताइवान पुगे, रुष्ट चीनले त्यहाँ तत्काल आक्रमण गर्नसक्ने

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ३ : ४१


ताइवानकी राष्ट्रपति साई इंग–वेनले अमेरिकी सेनाहरु ताइवानमा पुगेको पुष्टि गरेकी छिन्। सीएनएनसँगको अन्तर्वार्तामा साईले केही अमेरिकी सेनाहरु ताइवानमा युद्ध अभ्यासको लागि आएको बताएकी हुन्।

चीनले आक्रमण गरेर नै कब्जा गर्ने बताइरहँदा ताइवानले अमेरिकी सेनालाई आफ्नो क्षेत्रमा स्वागत गरेको हो। चीनले ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्दछ। तर ताइवान चीनमा कुनै हालतमा समाहित नहुने ताइवानले बताउँदै आएको छ।

ताइवान र अमेरिकी सेनाले यतिबेला संयुक्त युद्ध अभ्यास गरिरहेको साईको भनाइ छ। यो घटनाले चीन ज्यादै रुष्ट हुने निश्चित छ। साईले सीएनएनसँग भनेकी छिन्,‘ताइवानको रक्षा क्षमता बढाउने उद्देश्यले अमेरिकासँग हाम्रो व्यापक सहयोग र सहकार्य छ।’

पछिल्ला दिनहरुमा जब ताइवानले चीनबाट जोगिन भन्दै अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ चीनले ताइवानको हवाई क्षेत्रमा सयौं युद्धक विमानहरु पठाइरहेको छ। चिनियाँ जनमुक्ति सेनाले ताइवान कब्जा गर्ने ढाँचाका जल तथा थल युद्ध अभ्यास पनि गरिरहेका छन्।

蔡英文Tsai Ing-wen on Twitter: "As the world grapples with the severity of the #COVID19 pandemic, China's military maneuvers around #Taiwan have continued unabated. Whether it's national defence or preventing the spread

ताइवानकी राष्ट्रपति साई इंग–वेन

गतवर्ष तत्कालिन अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ ताइवान भ्रमणमा जाने चर्चा चलेको थियो। त्यसबेला चीनले यदी पोम्पिओ ताइवान भ्रमणमा गएको खण्डमा चिनियाँ सेनाका लडाकु विमानहरु तत्काल ताइवान पुग्ने चेतावनी दिएको थियो।

ताइवानसँग सम्बन्ध राख्न अगाडि आफूसँग अनुमति लिनुपर्ने चीनको भनाइ छ। चीनले ताइवानलाई विभिन्न अन्तर्राष्ट्रिय गतिविधिमा पनि सामिल हुन दिएको छैन।

यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडेनले एक चीन नीति विपरित अभिव्यक्ति दिइरहेका छन्। यदी चीनले ताइवानमा आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने उनको भनाइ छ।

यतिबेला अमेरिकी सेनाहरु ताइवानमै पुगेका छन्। चीनको भनाइमा अमेरिकी सेना ताइवान पुग्नु त्यो चीनको सार्वभौमिकतामाथिको सबैभन्दा ठूलो प्रहार हो। जसका कारण पनि चीन निकै रिसाएको अनुमान गरिएको छ।

अब चीनले ताइवान कब्जा गर्ने कार्य तत्काल अगाडि बढाउनसक्ने विश्लेषण हुन थालेको छ। गत वर्षदेखि नै चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान अलग्याउन खोज्ने शक्तिबाट खतरा भएकाले आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुन निर्देशन दिएका थिए।

चीन–ताइवान विवाद
चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ।

पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ। जसले चीनको ताइवान कब्जा गर्ने दृढता थप मजबुत हुँदै गएको देखाउँछ। तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ।

Xi: China will never allow foreign bullying - BartDay

चिनियाँ राष्ट्रपति सी चिनफिङ

चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।

ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ। सीएनएन र एजेन्सीको सहयोगमा

यो पनिः ‘ताइवानको विषयमा हस्तक्षेप भए तेस्रो विश्व युद्ध हुनसक्छ’


प्रतिक्रिया दिनुहोस्