हाम्रो निशाना सेना-प्रहरी नभई दलाल पुँजीपति वर्गः विप्लव

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ९ : ५७


नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिको निशाना नेपाली सेना र प्रहरीसित नभई दलाल पुँजीपति वर्ग भएको बताएका छन्।

विप्लवले जनयुद्धको क्रममा नेतृत्वले धोका दिएको कारण क्रान्तिको झण्डा आफूहरूले उठाउनु परेको भन्दै श्रमिक जनताको सपना पूरा नहुँदासम्म क्रान्ति जारी राख्ने बताएका हुन् ।

नेकपा कपिलवस्तुद्वारा विप्लवका दाजु चन्द्रबहादुर चन्द विरजंगको निधन भएको १३ औं दिनको पुण्यतिथिमा शिबगढीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै विप्लवले विरजंगको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै उनको निडरता, इमानदारिता, सरलता र क्रान्तिप्रतिको निष्ठाले क्रान्तिलाई कमजोर होइन तागत पैदा गरेको बताए ।

महासचिव विप्लवले नेता राज्यबाट उपचार नपाएकै कारण बीरजङ्गको निधन भएको बताउँदै उनको सपनालाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताए ।

उनले नेता बीरजङ्ग पार्टी र क्रान्तिको अभिभावक भएको भन्दै उनको क्रान्तिकारी आदर्शलाई पछ्याउनुपर्ने बताए।

विप्लवले आफ्नो पार्टी जनताको सेवक भएको अहिलेको व्यवस्थाले जनताको समस्या समाधान नगर्ने बताए। साथै उनले जनता र देशलाई केन्द्रामा राखेर पार्टी एकता सम्भव हुने बताए।

यसैगरी नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले वीरजङ्गसँगको बिगत स्मरण गर्दै उनी क्रान्तिप्रति दृढ, इमानदार र प्रतिबद्ध नेता भएको बताए।

नेता महराले क्रान्तिकारी पार्टीहरू छिन्नभिन्न भएको भन्दै एकता आवश्यक भएको बताए।


प्रतिक्रिया दिनुहोस्