विराटनगरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : १४


विराटनगर। विराटनगरको कञ्चनवारिमा सवारी दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ। दुर्घटनामा थप चार जना घाइते भएका छन्।

विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो। ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।

कारको ठक्करले उछिट्टिएको डिभाइडरले लागेपछि पैदलयात्री विराटनगर ६० वर्षीय रमेशकुमार पाण्डेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कारले पैदलयात्रीलाई ठक्कर दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा२झ ३२६५ नम्बरको नेपाली सेनाको स्कारपियो गाडीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी कार चालक सप्तरी राजविराज घर भएका दिलीपकुमार यादव, ब्रमदेव यादव, गिरीराज चौधरी र सुनिता यादव घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

नेपाली सेनाले चलाएको स्कारपियो र ट्रक चालक अहिले मोरङ प्रहरीको नियन्त्रणमा रहेका छन्। घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्