केन्द्र सरकारको एकात्मक सोच अझै कायमैः खिमलाल देवकोटा

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ११


कात्तिक। संविधान सभाका सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संघीय सरकारको एकात्मक सोचका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।

अछामको साँफेबगर नगरपालिका, नेपाल कानुन समाज र सुशासनको लागि क्षमता विकास परियोजनाको आयोजनामा स्थानीय तहबाट प्रवाह हुने न्यायिक सेवा सम्बन्धी प्रशिक्षण दिँदै उनले संघीय सरकारको सोच र चिन्तनमा नै समस्या रहेको धारणा व्यक्त गरे।

उनले तीन तहका सरकारबीचको तालमेल नमिल्दा संघीयताको कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताए। संविधान प्रदत्त अधिकार कार्यान्वयनमा भन्दा एक अर्काविरुद्ध दोषारोपण मात्र भइरहेको उनले बताए।

संविधानलाई कार्यान्वयन गर्ने, जनतालाई स्वाधीन र सार्वभौम बनाउनका निम्ति संघीय सरकारमा प्रतिनिधित्व गर्ने व्यक्तिको सोचाइमा परिवर्तनको आवश्यकता रहेको देवकोटाले औंल्याए। संविधान प्रदत्त स्थानीय तहकारलाई समेत केन्द्र सरकारले ढाकछोप गर्ने गरेको दाबी उनको छ।

हाम्रो संविधानले सहकार्य, समन्वय र सहकारितामा आधारित संघीय व्यवस्थाको परिकल्पना गरेको भए पनि स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय र सहकार्यको अभाव देखिएको उनले बताए।

यस्तै न्यायिक समितिलाई संविधानले अधिकार प्रत्यायोजन गरेको भए पनि आवश्यक प्राविधिक ज्ञानको अभाव, न्यायिक समितिलाई चाहिने कर्मचारीको व्यवस्था पन हुन नसकेको देवकोटाको भनाई छ।

न्यायिक समितिको क्षेत्राधिकार, कार्यविधि, मेलमिलाप सम्बन्धमा भएका अवधारणागत विषयलाई सम्बोधन संघीय सरकारले गर्नुपर्नेमा उनको जोड थियो।


प्रतिक्रिया दिनुहोस्