राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिकाे  निर्देशन

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : १८


सान्टियागो । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई राजिनामा दिन  निर्देशन दिनुभएको छ ।

आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाउनु भएको हो । “आन्दोलनकारीहरुको माग अनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु, त्यसका लागि सबै मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएको छु,” उहाँले पत्रकारहरुसँग भन्नुभएको छ ।

राष्ट्रपति कार्यालयमै पत्रकारहरुसँग भएको भेटमा उहाँले आन्दोलनकारीको आवाज आफूले सुनेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै परिवर्तन हुनुपर्छ, हामी सबै वास्तविकतामा आधारित भएर आपत्कालीन समस्याको समाधान जिम्मेवारीपूर्ण ढङ्गले निकाल्नु पर्दछ ।” गत शुक्रबार राजधानी सान्टियागोमा दशौं लाख जनाले राष्ट्रपतिको राजिनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए ।

उनीहरुले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्ने, आधारभूत अन्य सेवाहरु सस्तो र सर्वसुलभ गराउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।   
अहिले भएको आन्दोलनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु सयौँ घाइते भएका छन् । आन्दोलन चर्कदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिन अगाडि सङ्कटकालको घोषणा गर्नु भएको छ ।

उहाँले आफू आन्दोलनकारीहरुको भावनासँग सहमत रहेको र आन्दोलनकारीसँग वार्ता मार्फत् तत्काल समस्याको निकास खोज्न तयार रहेको पनि बताउनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्