सुस्ताको कब्रस्थानको जग्गा विवादमा ५ जना घाइते, ३ जना पक्राउ

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


रविन्द्र यादव

नवलपरासी । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाको कुडियामा शनिवार कब्रस्थानको जग्गाको बिषयलाई लिएर भएको झगडामा घरेलु हतियारको प्रयोग गरिएको छ । प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । 

उक्त झगडामा ५ जना घाइते भएका छन् । मुस्लिम धर्मको कब्रस्थान जग्गाको बिषयमा कुडियामा रहेको मुस्लिम समुदायका दुई पक्षबीच भएको झगडामा एक पक्षले घरेलु हतियारको प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो कब्रस्थानको जग्गा सुस्ता २ कुडिया बस्ने आब्बास अन्सारीले जालसाजी गरेर आफ्नो नाममा लालपुर्जा बनाएको भन्ने एक पक्षको भनाइ रहेको छ भने अब्बास अन्सारीले त्यो जग्गा आफ्नै हो भनेर दाबी गरेका छन् । 

यी जग्गाको बिषयलाई लिएर अदालतमा पनि मुद्दा चलिरहेको छ । कब्रस्थानको जग्गा हो भन्दै स्थानीयबासीले सो जग्गामा तारबार लगाउन लाग्दा दुई पक्षबीच झगडा सुरु भएको हो । झगडामा आब्बास अन्सारीको पक्षले घरेलु हतियार फर्सा र बन्चरो जस्ता हतियारको प्रयोग गरेका कारण ५ जना घाइते भएको बताइएको छ । 

अहिले इलाका प्रहरी कार्यालय बेलाटारीले घरेलु हतियार प्रयोग गर्ने ३ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा सुस्ता २ कुडियाका आब्बास अन्सारी, सोही स्थानमा बस्ने निरोदिन अन्सारी, नेसारअहम्मद अन्सारी र अनवर अन्सारी रहेका छन् । पक्राउ परेका तीनजनासँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । घाइतेहरुको उपचार मेडिकल कलेज भैरहवामा भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले बताएको छ ।
 


प्रतिक्रिया दिनुहोस्