नेपालसहित चार देशको सहभागितामा कोलकातामा सुन्तला महोत्सव हुँदै

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : ३४


जयगाउँ। नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा हुने भएको छ।

एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजम नामक संस्थाले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ। भुटानको सीमा नजिक पश्चिम बङ्गालको जल्दापारा नेसनल पार्कमा आज भएको अन्तरदेशीय बैठकले महोत्सवको तिथि निर्धारण गरेको हो। प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्वनिर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुन नसकेको आयोजक संस्था एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमका अध्यक्ष राज बसुले बताए।

उनका अनुसार आजको अन्तरदेशीय बैठकमा नेपाल र भारतका प्रतिनिधिको सहभागिता रहेको थियो। कोरोना महामारीका कारण बङ्गलादेश र भुटानले सीमा बन्द गरेका कारण ती देशका प्रतिनिधि बैठकमा आउन नपाएको बसुले जानकारी दिए। हिमालय क्षेत्रका नेपाल, भारत र भुटानमा फल्ने सुन्तला महोत्सवको विशेष आकर्षण हुने गरेको छ। ग्रामीण क्षेत्रमा उत्पादन हुने अग्र्यानिक जडीबुटी, फलफूल र हस्तकलाका सामग्रीको महोत्सवमा प्रचारप्रसार गरिँदै आएको उनले बताए।

उक्त महोत्सवका लागि नेपाल सहआयोजक रहँदै आएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमका महासचिव अर्जुन कार्कीले बताए। उनले बैठकमा महोत्सवले नेपाली सुन्तला र ग्रामीण पर्यटनको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको हुँदा आगामी मङ्सिरमा कोलकातामा हुने महोत्सवमा नेपालको तर्फबाट प्रदेश नं १ का पर्यटन व्यवसायी, सुन्तला कृषक र पत्रकारको सक्रिय सहभागिता रहने बताए।


प्रतिक्रिया दिनुहोस्