दाङको फूलबारी क्षेत्रका खसी बाख्रामा प्रकोप, दुई सातामा ३० वटा मरे

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : १८


दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारी क्षेत्रमा खसी बाख्रामा प्रकोप देखिएको छ। खसी बाख्रामा झाडापखालाको प्रकोप देखिएको हो।

खसी बाख्रामा पखाला लाग्ने, बिरामी हुने र मर्ने क्रम बढेको स्थानीय किसानहरूले बताएका छन। प्रकोपबाट दुई साताको अवधिमा ३० खसी बाख्रा मरेका छन्।

तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा बाख्रा पालन गर्दै आएका ६ जना किसानका ३० वटा खसी बाख्रा मरेको बाख्रा पालक किसान गोविन्द सुवेदीले जानकारी दिए।

उनका अनुसार खसी बाख्रामा केही दिनदेखि पखालाको समस्या देखिएको थियो। उक्त समस्या देखिएको केही दिनमा नै सबै खसी बाख्रा मरेको उनले बताए।

बिरामी भएका स्थानीय किसान हिरामती चौधरीका चार खसी र सात बाख्रा गरी ११ वटा, लाल बहादुर चौधरीको दुई बाख्रा, शान्ता चौधरीको ६ बाख्रा, बलवीर चौधरीको चार वटा बाख्रा, मनोज चौधरीका चार बाख्रा र पूर्ण बहादुर चौधरीका दुई बाख्रा मरेको उनले जानकारी दिए।

दुई साताको अवधिमा उक्त संख्यामा खसी बाख्रा मरेको र अझैँ पनि ८ वटा बिरामी रहेको पशु सेवा शाखा तुलसीपुरका शाखा अधिकृत सुवास आचार्यले जानकारी दिए।

किसानले समयमा उपचारमा ध्यान नदिँदा ठूलो क्षति भएको उनले बताए। वर्षातको समयमा खसी बाख्राको खानपान र स्याहारमा ध्यान नदिँदा मरेको उनले बताए।

चरनका क्रममा भिजेका कारण पखाला र ज्वरो आउने जस्ता लक्षण देखिएकाले उनीहरूको खानपान, औषधीउपचार र स्याहारमा विशेष ख्याल गर्नुपर्ने उनले बताए। आफूहरूले पीडित किसानसँग भेट गरी बाँकी बिरामी बाख्राका लागि औषधी र परामर्श दिइएको आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्