तुलसीपुरमा मेयरले वर्तमान अध्यक्षलाई समेत उम्मेदवारी दर्ता गर्न दिएनन्

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : १८


दाङ। नेकपा एमालेको तुलसीपुर उपमहानगरपालिको नगर अधिवेशनमा भाँडभैलो भएको छ। वर्तमान अध्यक्षलाई उम्मेदवारी दिनबाट रोकिएपछि अधिवेशनमा भाँडभैलो मच्चिएको हो। यही कारण मध्यरातमा मात्र नगर कमिटी सार्वजनिक भएको छ।

वर्तमान अध्यक्षले समेत उम्मेदवारी दिन नपाएपछि नगर अधिवेशनमा असहज अवस्था देखिएको थियो। अध्यक्ष केशवराज सापकोटाले पुनः अध्यक्षमा उम्मेदवारी दिन खोज्दा उनलाई उम्मेदवारी दिनबाट रोकेर वर्तमान सचिवलाई अध्यक्ष बनाएर जबर्जस्त कमिटी घोषणा गरिएको छ। उम्मेदवारी दिन रोकेर अधिवेशनमा जबर्जस्त नयाँ नेतृत्वको नाम अध्यक्षमण्डलले सार्वजनिक गरेको सापकोटाको आरोप छ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले अधिवेशनमा दादागिरी गरेर आफूअनुकूलका व्यक्तिलाई अध्यक्षमा ल्याएको र तुलसीपुर एमालेलाई कमजोर बनाएको आरोप सापकोटाले लगाए। ‘पार्टीको अधिवेशनमा वर्तमान अध्यक्षले समेत उम्मेदवारी दिन नपाउने यो कस्तो लोकतन्त्र हो?’ उनले भने,‘मेयर पाण्डेको दादागिरी अधिवेशनमा देखिँदा क्षमतावान् साथीहरू बाहिरिनुपर्‍यो।’ उनले नगर कमिटीका नाममा शक्तिको दुरूपयोग र दादागिरी भएको पनि बताए।

सापकोटाले आफूलाई पार्टीभित्रकै केही नेताहरूले मनोनयन दर्ता गर्नसमेत नदिएको बताए। ‘मलाई उम्मेदवारी दर्ता गर्न नै दिइएन’, सापकोटाले भने, ‘तुलसीपुरका मेयर घनश्याम पाण्डेलगायतले दादागिरीले यस्तो भयो।’ उम्मेदवारी नै दताए गर्न रोकिएपछि आफू र सच्चा कार्यकर्ता अधिवेशन बहिष्कार गरेर निस्किएको बताए।

‘मलाई रोकेर माधव वलीलाई नगर अध्यक्ष बनाउन ठूला चलखेल र दादागिरी भयो’, उनले भने, ‘मैले नेताहरूलाई मलाई पार्टी अप्ठ्यारोमा पर्दा मात्र सम्झिनू भनेको छु।’ पार्टीभित्रको सहमतिमा वलीलाई उपाध्यक्ष बनाउने भएको सापकोटाले बताए।

दाङमा कहाँ कसको नेतृत्व?

नेकपा एमालेले दाङका १० वटै पालिकाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। पालिका नेतृत्व प्रायस् युवाहरूको काँधमा देखिएको छ। नेकपा एमालेको तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटीमा माधव वली, घोराही उपमहानगरको अध्यक्षमा भुवन चौधरी र लमही नगरपालिकामा दण्डिराम चौधरी सर्वसम्मत रूपमा नगर अध्यक्ष चयन भएका छन्।

त्यस्तै, बबई गाउँपालिकाको अध्यक्षमा जीतबहादुर वली, दंगीशरण गाउँपालिकामा रेशम वली, शान्तिनगरमा धनबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी, राप्ती गाउँ कमिटीमा मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जीसी अध्यक्ष बनेका छन्।

एमाले दाङका अध्यक्ष टीकाराम खड्काका अनुसार जिल्लाका १० वटै पालिकाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो। पालिकामा एक जना महिला पनि नेतृत्वमा आएका छैनन्। वडामा भने पाँच जना महिला नेतृत्वमा आएका छन्।


प्रतिक्रिया दिनुहोस्