चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छः माधव नेपाल

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ४६


सर्लाही। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन्।

बुधवार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृतिलाई घुडा टेकाएर नयाँ पार्टी गठन गरेको बताए।

मैथिली भाषामासमेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भविष्य भएको एकमात्र पार्टी नेकपा एकीकृत समाजवादी भएको दाबी गरे।

सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भए पनि कम्युनिस्ट पार्टीको असल विचार र नीति लिएर आफूहरु अगाडि बढेको बताए। सिधारसोझा जनतालाई ठग्ने, चुस्ने नीति लिएका जो कसैलाई नछाडिने उनको चेतावनी थियो।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको चाहनाभन्दा पनि लम्पसारवादको पछि लागेको आरोप लगाए।

कार्यक्रमका दौरान पुष्पलालको शालिक अनावरण गरेपछि अध्यक्ष नेपालले उनको योगदानको खुलेर प्रशंसा गरे। कार्यक्रमको धेरैजसो समय ओलीप्रति खनिएका उनले पार्टीलाई विधि र पद्धतीमा चल्न नदिएर जथाभावी गर्ने केपी ओली को हुन्? भनेर प्रश्न समेत गरे।

देशमा ओली प्रवृति हावी भएपछि पटक पटक संविधानको रक्षाको लागि दिनरात लागेको स्मरण गरे।

कामभन्दा पनि कुरो धेरै गरेर ओलीले देशका नागरिकलाई बेवकुफ बनाएको भन्दै कटाक्ष गरे। ‘काम केही गर्नु छैन,’ उनले भने, ‘गफाडीले झै कुरामात्र गरिरह्यो।’ जनताको मर्म र भावनाअनुसार जनताको भविश्य कोर्ने कलम लिएर नेकपा ९एस० आएको उनले जिकिर गरे।

विभिन्न कार्यक्रममा सहभागी हुन मंगलवार नै सर्लाही आइपुगेका अध्यक्ष नेपाल पार्क उद्घाटनपश्चात काठमाडौं लागेको नेकपा एस जिल्ला कमिटीले जनाएको हो।


प्रतिक्रिया दिनुहोस्