‘आईएस–के अर्को वर्ष अमेरिकालाई आक्रमण गर्न सक्षम हुनेछ’

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : ५८


आतंकवादी संगठन आईएसको क्षेत्रीय संगठन आईएस–के समूह आगामी वर्ष भित्र अमेरिकालाई आक्रमण गर्न सक्षम हुनसक्ने अमेरिकी रक्षामन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन्।

पेन्टागनका शीर्ष नीति अधिकारी कालिन खालले मंगलबार यस्तो बताएको सीएनएनले जनाएको छ। सिनेट सशस्त्र सेवा समितिमा बोल्दै खालले भने,‘अहिले नै उनीहरुसँग ठूलो आक्रमणको क्षमता छैन तर ६ देखि १२ महिना भित्र आईएस–केले अमेरिकामा आक्रमण गर्ने क्षमता बनाउन सक्छन्।’

उनका अनुसार अल–कायदा समूहले पनि एक देखि दुईवर्ष भित्र आक्रमणको क्षमता पुनः निर्माण गर्नसक्छ। गत अगष्टमा अफगानिस्तानस्थित आईएस–केले आत्मघाती बम बिस्फोट गराउँदा १३ अमेरिकी सेनासहित १८० भन्दा बढीको ज्यान गएको थियो।

सो विस्फोटन काबुलको विमानस्थल अगाडि भएको थियो। जहाँ अमेरिकी सेनाहरु उद्धारका लागि खटिएका थिए।

खालका अनुसार अमेरिकी सेनालाई खतरा निम्त्याउनसक्ने समूहको क्षमता ठूलो छ। गत सेप्टेम्बरमा आर्मी जनरल मार्क मिलेले आईएस–के र अल–कायदाले अपेक्षाकृत छोटो समय सीमा भित्र समूह पुनर्गठन गर्नसक्ने बताएका थिए।

मिलेले अमेरिकी सांसदहरुसँग भनेका थिए,‘अल–कायदा र आईएस समूह भविष्यमा ६, १२, १८, २४ अथवा ३६ महिना भित्र पुनर्गठन हुनसक्छन् जसले अमेरिकालाई चुनौती दिनसक्छ।’


प्रतिक्रिया दिनुहोस्