बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : २७


काठमाडाैं । अल्पमतमा परेकी बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । प्रदेशसभाको बैठकमा बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिने घाेषणा गरेकी हुन् ।

प्रदेशसभामा रहेका १०९ जना सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन् । शाक्य गत २ भदौमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । मुख्यमन्त्री बनेको दुई महिनापछि उनको पद धरापमा परेको हो ।

गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो । पाण्डेको नेतृत्वमा बन्ने सरकारमा सुरुमा चारजना मन्त्री नियुक्त गरिने गठनबन्धनको तयारी रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्