मलेसिया रोजगारीको बाटो खुल्यो

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ८ : २६


नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसियाको रोजगारीको बाटो खुला भएको छ। सिण्डिकेट प्रकरणका कारण २०७५ जेठ २ गतेदेखि नेपालीहरू मलेसिया जान पाएका थिएनन्।

बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो तर पनि म्यानपावर कम्पनीले कामदार पठाउन सकेका थिएनन्। त्यसलगत्तै महामारीका रूपमा फैलिएको कोभिड १९ का कारण मलेसिया रोजगारीको बाटो पुनः रोकिएको थियो।

हाल मलेसियाले विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालीका लागिसमेत बाटो खुला भएको हो।

काठमाडौंस्थित मलेसियाको दूतावाासले विज्ञप्ति जारी गर्दै महामारीका कारण लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको छ।

मलेसिया प्रवेशका लागि निश्चित मापदण्ड भने तोकिएको छ। मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्नेछ।

वैधानिक भिसा भई विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० बाट मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका व्यक्ति मलेसिया जान पाउनेछन्।

मलेसिया प्रवेशका लागि पिसिआर परीक्षणको नेगेटिभ रिपोर्टसमेत अनिवार्य गरिएको छ। मलेसिया पुगेपछि तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख गरिएको छ।

मलेसिया रोजगारीको बाटो खुला भए पनि कामदार शून्य लागतमा जान पाउने टुंगो भने लाग्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस्