भरतमणिको क्यारिकेचरबारे पूर्वयुवराज पारसको प्रतिक्रियाः फन्नी–फन्नी एकदम रमाइलो

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ७ : ४४


कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन्।

दुवैबीच एक घन्टा कुराकानी भएको थियो। पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिएका छन्।

पौडेलले पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको जानकारी दिए। उनी पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए। जसलाई धेरैले मन पराएका थिए।

‘साँझ ५ बजेदेखि एक घन्टा बस्यौं, उहाँले मेरो भिडियो हेर्नु भएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो। अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो– फन्नी, फन्नी, एकदम रमाइलो। किप इट अप। राम्रो गर्दै जानु’ भरतमणिले पारस शाहसँगको भेटबारे भने,‘मलाई त एकदम मन पर्यो, उहाँको सादगी जीवन देखेर। मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो। दले दाइ सुमन कोइराला र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो। खाजा सँगै खाइयो। जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो।’

‘मलाई उहाँसँग आफूले गरेको नक्कल कस्तो लाग्यो भनेर सोध्न मन थियो। त्यही कारण आफैंले उहाँलाई भेट्ने इच्छा गरेको थिएँ।’ उनले भने,‘भेटघाटमा पूर्वयुवराज आफूले सोचेकोभन्दा एकदमै सरल र मिजासिलो लागेको छ। पूर्वयुवराज गम्भीर होलान् भन्ने मेरो अनुमान थियो। तर अपेक्षाविपरीत पारश शाहले भेट्नेबित्तिकै सुरूमै के छ यार भन्नु भो।’


प्रतिक्रिया दिनुहोस्