ओली भन्छन्-सुशीला कार्कीको पालादेखि सर्वोच्च अदालत विवादित बन्यो

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : ३८


विराटनगर। एमालेका अध्यक्ष केपी ओलीले प्रधानन्याधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको आरोप लगाएका छन्।

‘सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ’, ओलीले भने। सविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था उल्लेख गरिएको छ । त्यो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीशले तोकेका चारजना न्यायाधीशसमेत पाँचजना रहने व्यवस्था रहे पनि कार्कीले आफ्नो इच्छाअनुसार संवैधानिक इजलास बनाएको ओलीको आरोप छ।

मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा ओलीले अहिले मात्रै होइन सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालतले राजनीति गरेको आरोप लगाए । अहिलेका प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले एमाले सर्वोच्च अदालत अशोभनीय गुटबन्दीमा नफस्ने बताए । कसैको पक्ष र विपक्षमा एमाले नलाग्ने उनको भनाइ छ ।

बाहिर सेटिङ देखिने गरे पनि अहिले भित्र नै देखिएको ओलीको भनाइ छ । अदातलत लोकतन्त्रको एक स्तम्भ भएकाले यसको गरिमा राख्नुपर्ने उनले बताए । गठबन्धनको काम सिस्टममा प्रहार गर्ने मात्र भएको उनको भनाइ छ । माधव नेपालप्रति प्रहार संकेत गर्दै उनले सिस्टममाथि प्रहार गर्ने सानो जमात रहेको बताए । उनले यो सरकारको किचलो केही पाकोस् भनेर हेरेको बताए । केही समयअघि मात्र ओलीले एमालेले चाहेमा एक हप्तामा सरकार ढाल्ने बताएका थिए ।

अहिलेको सरकार असफल भएको ओलीको टिप्पणी छ । तीन महिनासम्म सरकार बनाउन विस्तार गर्न नसक्ने सरकार फेल भएको उनको भनाइ छ । सभामुखप्रति कटाक्ष गर्दै उनले एमाले सरकारमा हँदा एक मिनेट कोही संसदमा उभिए संसद् रोकिए पनि अहिले प्रतिपक्ष दलको विरोध हुँदा बैठक चलेको बताए। उनले अर्ली इलेक्सनको विकल्प नभएकोसमेत बताए ।


प्रतिक्रिया दिनुहोस्