चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ११


कञ्चनपुर। बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ।

चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो।

चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताए।

दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ।

साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन्।

ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शाहीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

कञ्चनपुर जिल्ला अदालतको विसं २०७६ माघ १२ को फैसलाअनुसार शाहीलाई छ महिना कैद र रु २० हजार जरिवाना ठहर गरेको थियो। अदालतबाट कैद र जरिवाना ठहर भएपछि शाही फरार थिए।

पक्राउ परेका शाहीलाई प्रहरीले अदालतमा पेश गरी कैदी पूर्जी जारी गरी कैद भुक्तानका लागि कारागार चलान गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस्