३३ किलो सुन तस्करीका गोरेलाई अपहरण मुद्दामा १० वर्ष जेल सजाय

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ०७


विराटनगर। साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाइएको छ।

असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको जिल्ला अदालत मोरङले शाक्यको हत्यामा गोरेसहित ८ जनालाई दोषी ठहर गरेको थियो।

अपहरण तथा शरीर बन्धक मुद्दामा गोरे मात्रै दोषी ठहर भएपनि सजाय निर्धारण भएको थिएन। सोमबार अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए।

मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक हजार रुपैयाँका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ गोरेबाट सनम शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको उनले बताए।

यसअघि जन्मकैद सजाय सुनाइएका गोरेको कैदमा अपहरण मुद्दाको सजाय जोडिने छैन। दुवै सजाय सँगै अघि बढ्ने भएकाले अधिकतम सजाय कायम हुने राणाले बताए।

ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै गत असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको थियो। सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो। तीमध्ये फरार २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्