पाँचथर बस दुर्घटनामा घाइते भएका १६ जनाको हेलिकोप्टरमार्फत उद्धार

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ०३


पाँचथर। आज यहाँ भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ।

एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो। उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए।

नेपाली सेनाको एम( १७ हेलिकोप्टरले १६ जना बिरामी र तिनका तीन जना कुरुवासमेतलाई फिदिमबाट धरान पुर्‍याएको हो। बिरामीहरूको रेफरका लागि साँझसम्म पर्याप्त एम्बुलेन्स नभएको तथा घाइतेहरूको स्वास्थ्य अवस्था झनै जटिल हुने भएपछि नेपाली सेनाको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरेको हो।

आज बिहान ११ बजे भएको दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए। अहिले फिदिमस्थित समर्पित अस्पतालमा नौ जना र पाथीभरा अस्पतालमा आठ जना घाइतेहरूको उपचार भइरहेको छ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ज्यान गुमाउनेमा लेटाङ नगरपालिका– ६ मोरङका सात वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो। एक जना मृतक महिलाको पहिचान हुन सकेको छैन।

फिदिम नगरपालिका ४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका ४ सरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको थियो। अर्को सवारीलाई उछिन्ने क्रममा सडक छेउमा रहेको माटोबाट अगाडि बढ्ने क्रममा माटो भत्किई बस सडकबाट करिब २० मिटर तल झरेको थियो।

दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोक बजारबाट ट्याक्सीमा निवु खोलासम्म आएका थिए। बाढीका कारण निवु खोलामा रहेको पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरू बसमा चढेका थिए। तर, बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो।

यसअघि तीन दिनसम्म भएको वर्षाका कारण मेची राजमार्गसहितका सडकहरु अवरुद्ध भएका थिए। दसैँ मनाउन गाउँ तथा आफन्तकहाँ आएकाहरू सडक सहज भएपछि आज उक्त बसमार्फत गन्तव्यतर्फ जाँदै थिए।


प्रतिक्रिया दिनुहोस्