नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्ने

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : २३


नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले राजीनामा दिनुपर्ने धारणा बनाएको छ। उक्त धारणा भोलिमात्र सार्वजनिक गर्ने नेपाल बारका एक पदाधिकारीले जानकारी दिए।

‘संवैधानिक निकाय र मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने, अपारदर्शी तरिकाले पेसी तोक्ने, उहाँ पेसी प्रणाली सुधार गर्न तयार नहुनेजस्ता विषयलाई लिएर प्रधानन्यायाधीश विवादित हुनुभयो’ स्रोतले भन्यो,‘उहाँले सर्वोच्चको नेतृत्व गर्ने नैतिक आधार गुमाइसक्नुभयो। त्यसैले राजीनामा गराउनुपर्छ भन्ने चर्को दबाब छ। आज बसेको बार बैठकले पनि उहाँको राजीनामा माग्ने धारणा बनाएको छ। भोलि बारका सल्लाहकारसँगको छलफलपछि धारणा सार्वजनिक गर्छौं।’

हिजोमात्र नेपाल बारको कार्यसमिति प्रधानन्यायाधीशसँग अदालतहरूमा गोलाप्रथाबाट पेशी तोक्ने, वकिलहरूलाई बरिष्ठताको उपाधि दिने र समसामयिक विषयमा छलफल गरेको थियो।

हिजोको छलफलमा मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषयबारे पनि बारले प्रधानन्यायाधीश राणालाई स्पष्टीकरण सोधेको थियो। बारको कार्यसमितिले गजेन्द्र हमाललाई मन्त्री बनाउने प्रधानन्यायाधीशको भूमिकाबारे प्रश्न गरेका थिए।

राणाले भने हमाललाई मन्त्री बनाउन आफ्नो कुनै भूमिका नभएको बताएका थिए। आफ्नी पहिली पत्नीका दाजु भएपनि उनको मृत्युपछि आउजाउ समेत धेरै नभएको जवाफ राणाले बार कार्यसमितिलाई दिएका थिए।


प्रतिक्रिया दिनुहोस्