भरतपुर घटनाः विश्वकर्माको कुटपिटमा मृत्यु, बाबुराम-आङकाजीले हिन्दु विरुद्ध अफवाह फैलाएपछि!

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ५८


काठमाडौं। भरतपुरमा मन्दिर पस्न खोज्दा भएको भनिएको मृत्यु प्रकरणमा अतिरञ्जना गरिएको पाइएको छ।

गत महानवमीको दिन भरतपुर महानगरपालिकाका भीमबहादुर विश्वकर्माको मृत्यु भएको थियो। सामाजिक सञ्जालहरुमा मन्दिर पस्न खोज्दा विश्वकर्मा मारिएको भन्दै खबरहरु सम्प्रेसित भए।

सोही फेसबुकका कुरालाई आधार मानेर विश्वकर्माको मृत्युको प्रसंगमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, आङकाजी शेर्पा, खगेन्द्र संग्रौला लगायतका व्यक्तिहरुले हिन्दुहरु विरुद्ध आक्रोश पोखे। आङकाजीले त फेसबुकमा हिन्दुधर्मावलम्बीहरुलाई ‘आतंककारी’नै घोषित गरे।

प्रहरी अनुसन्धानमा विश्वकर्माको मृत्यु कुटपिटबाट भएको पाइएको छ।

साम्प्रदायिक संवेदनशीलतामा आघात पार्नेगरि फैलाइएको उक्त घटनाको अनुसन्धानमा मन्दिरको प्रसंग कतै पनि उल्लेख छैन। नत बली र पूजाको कुरामा नै विवाद भएको पाइएको छ।

मादक पदार्थ पिएर आएका विश्वकर्माको स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठसँग भनाभन भएको र उनीहरुले पिटेको, पिटाइले गर्दा उनी ढलेको र मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ।

श्रेष्ठ र बस्नेतले सो कुरा स्वीकार गरेर कारवाही पनि अघि बढिसकेको प्रहरीको भनाई छ। यसरी घटनामा अतिरञ्जना गरेर खबर फैलाइएको प्रहरीको निष्कर्ष छ।

यसरी एउटा घटनालाई जात र धर्मसँग जोडेर कसले सुरुमा किन अफवाह फैलाए? भन्नेबारेको बिषय भने अनुसन्धानको घेरामा छ।


प्रतिक्रिया दिनुहोस्