स्वार्थ पूरा गर्न निश्चित व्यक्तिले बंगालादेशमा जातीय हिंसा मच्चाएः शेख हसिना

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ४८


ढाका। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप लगाएकी छिन्।

बंगलादेशमा दुर्गा पूजा मनाउने क्रममा फेसबुकमा एउटा फेक पोस्टका कारण साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । एउटा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गर्नुका साथै हिन्दू मन्दिरमा तोडफोड गरेको थियो ।

‘बंगलादेशलाई सुनियोजित तरिकाले कसैले पनि पछाडि धकेल्न सक्दैन । पछिल्लो समयमा बंगलादेशमा भएका घटनाहरु सुनियोजित हुन् । देशमा अस्थिरता निम्त्याउन चाहने तत्वले यस्ता षडयन्त्र गरेका हुन् । ’ प्रधानमन्त्रीले भनिन् ।

बंगलादेशलाई जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको उनको भनाई थियो । ‘आफ्नो इच्छा पूरा गर्न निश्चित व्यक्ति र समूहले जातीय द्वन्द्व बढाउन लागि परेका छन्,’ उनले भनिन् ।

जातीय हिंसा भड्काएको आरोपमा प्रहरीले शैकत मन्डललाई पक्राउ गरेको छ । यसअघि कोक्स बजारबाट इक्वाल होसेन पक्राउ परेका थिए । होसेन बंगलादेशको पछिल्लो जातीय हिंसाका प्रमुख षडयन्त्रकारी भएको जनाइन्छ ।

हिंसाबीच, बंगलादेशका अल्पसंख्यक हिन्दूहरुले नौ दिनसम्म दुर्गा पूजा गरेर विजया दशमी मनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्