बाढीपहिरो कहरः जनप्रतिनिधि सहानुभूति राख्न तलब दिन्छन्, दीर्घकालीन योजना बनाउन सक्दैनन्

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : १८


सुनसरी। चार वर्षअघि स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको महिना दिनमा नै इटहरीले विपत्तिको सामना गर्नुपर्‍यो। सुनसरी र मोरङको सीमा छुट्टाउने बुढी खोलामा आएको बाढीले इटहरीका ६ जनाले ज्यान गुमाउनु परेको थियो।

ठूलो धनमालको क्षति गरेको उक्त बाढीले इटहरीवासीलाई खतराको संकेत गरेको थियो। त्यसको चार वर्षपछि फेरि बेमौसमी वर्षातका कारण ठूलो धनजनको क्षति गर्‍यो । चार जनाको ज्यान गयो, एक जना बेपत्ता छन्।

सयौँ घरमा बाढी पस्यो । करोडौँको धनमाल बालुवामा परिणत गरिदियो । निर्वाचित भएको पहिलो महिनामा नै विपत्तिको पीडा देखेका, भोगेका जनप्रतिनिधिले इटहरीलाई बाढीबाट मुक्त गर्लान् भन्ने आशसमेत गरेका थिए।

आफूले रोजेको जनप्रतिनिधिलाई धेरै स्थानीयले समेत पटक पटक घच्घच्याउँछन्। तर, आजपर्यन्त कुनै दीर्घकालीन योजनासमेत बनाउन सकेनन् । आफ्नो तलब काटेर विपतको समयमा सहानुभूति राख्न सक्ने जनप्रतिनिधिले किन राज्यबाट रकम मागेर खर्च गर्न सक्दैनन् रु इटहरीलाई सेरा खोला, खेती खोला, टेङ्ग्रा खोला र बुढी खोलाले बाढीकै कारण तहसनहस पार्ने गरेको छ।

स्थानीय सरकारले हरेक वर्ष बाढी रोकथाम तथा खोला सरसफाइ भन्दै लाखौँ रकम खर्च गरेको छ । छोटो समयमा तीव्र बजारीकरणको रूपमा फेरिएको इटहरीमा स्थानीयले खोला पैनी मिचेर भौतिक संरचना बनाएका छन्, हडपेर बनाएका संरचना हटाउने तथा भत्काउने पूर्ण अधिकार स्थानीय सरकारलाई छ । तर, आजसम्म इटहरीका खोला पैनी मिचेर बनाएका संरचना हटाउन कुनै निकायले पनि आँट गरेका छैनन्।

मेयर चौधरीको बोली एउटा व्यवहार अर्कै

इटहरीका मेयर द्वारिकलाल चौधरी स्थानीय सरकारको प्रमुखमा निर्वाचित भएको समय निकै चर्चामा आए । खोला पैनी मिचेर बनाएका संरचना हटाउँछु भन्दै जानी नजानी डोजर चालक बनेर खोला भित्र पसेका थिए । पछि एक समिति बनाएर काम गर्ने भन्दै उनले संरचनामाथि डोजर चलाउन सकेनन् ।

इटहरीमा भएको डिभिएम बोडिङ् स्कुल, एमालेको पार्टी कार्यालय, इटहरी ५ मा रहेको सिमरबना सहकारी भवन, नमुना कलेज लगायतका कयौँ स्थानकाबारेमा पटक पटक प्रश्न उठ्दै आएको छ । तर, आफ्नो कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा पनि मेयर चौधरी अतिक्रमित खोलाको क्षेत्र हटाउने आश्वासन बाँड्दै आएका छन् । उनी इटहरीवासीको साझा सहमतिबाटै समाधान निकाल्नु पर्ने र सोही अनुरूप काम गर्नु पर्ने बताउँछन् ।
यसरी बाढीको जोखिम कम गर्न सकिन्छ ।

विशेष गरी इटहरी डुबान हुने भनेको सम्बन्धित निकायको कमिकमजोरी प्रष्ट देख्न सकिन्छ । जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दीर्घकालीन योजना बनाएर सदाका लागि तटबन्ध नलगाउनु। विपद व्यवस्थापनमा छुट्ट्याइएको रकम खर्च गर्न नसक्नु जस्ता कारणले आज इटहरी बाढी र डुबानको सिकार हुँदै आएको छ।

इटहरी पूर्वको उदाउँदो सहर हो । पहाडी जिल्लाबाट बसाइसरी आउनेको संख्या अत्यधिक छ । उनीहरूले खरिद गरेको जग्गा कुन भूगोलमा छ रु खोला पैनीलाई असर गरेको छ कि छैन रु भन्ने सामान्य जानकारीविना घर निर्माण गर्दा डुबान हुने गरेको लामो समयदेखि इटहरीमा बसोबास गर्दै आएका बद्रीप्रसाद पोखरेल बताउँछन् । घर बनाउने बेला उपमहानगरले भूगोलको अवस्था हेरेर मात्रै नक्सा पास गरी भौतिक संरचना निर्माण गर्न दिनुपर्ने उनको तर्क छ ।

त्यस्तै इटहरीका अगुवा नेता रामप्रसाद चौलागाईं इटहरीको बीच भागबाट टेङ्ग्रा खोलालाई इटहरीदेखि खनारसम्मको खोलालाई डाइभर्सन निर्माण गरी बुढी नदीमा जोड्नु अर्को स्थायी समाधान हुन सक्ने बताउँछन् । जसका कारण धेरै वडा डुबानबाट सुरक्षित राख्न सकिने उनले बताए।

जनप्रतिनिधि आए पनि दीर्घकालीन समाधान तर्फ कुनै कदम नचाल्नुले इटहरीलाई सामान्य वर्षाबाट डुबान रोक्न नसकेको उनको भनाइ छ। त्यस्तै नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी ड्रेनको दीर्घकालीन योजना बनाउनु पर्ने बताउँछन्।

पुराना पैनीलाई नयाँ संरचनाका आधारमा उही क्षेत्रफलमा बनाउनुले समेत बाढीले इटहरीलाई त्रसित पार्ने गरेको उनको भनाइ छ। खोला पैनीको क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सरकारले उचित र सुरक्षित स्थानमा राख्नुपर्ने र खोलाको आफ्नो क्षेत्र क्लियर गर्नुपर्ने केसीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्