पाँँचथरमा बाढी-पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, अझै चार वेपत्ता

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ३९


पाँचथर। पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार बाढी र पहिरोमा परी वेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको संख्या ३० पुगेको हो।

१ देखि ३ कात्तिकसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिरोको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहमा सो संख्यामा स्थानीयवासीको ज्यान गएको हो।

बाढीले बगाएर वेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिरोले पुरिएर वेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव आज फेला परेको प्रहरीले जनाएको छ।

बाढी र पहिरोमा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ। जसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन्।

पाँचथरमा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी र पहिरोमा परी वेपत्ता छन्। वेपत्ता हुनेमा दुई जना स्वास्थ्यकर्मीसमेत छन्।

इलामको माङसेबुङ गाउँपालिकामा कार्यररत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए। तर पहिरो झरेपछि भाग्ने क्रममा वेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिए।

बाढी र पहिरोमा परी वेपत्ताको खोजी कार्य तीब्र पार्न तथा क्षतिको विवरण संकलन गर्न जिल्ला विपत ब्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ।

सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण संकलन थालिएको समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्