बाइडेनलाई चीनको चेतावनीः ताइवानबारे सम्हालिएर बोल्नू

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ४ : १२


चीनले ताइवानमा आक्रमण गरेको खण्डमा आफूले चीनको प्रतिक्रिया जनाउँदै ताइवान रक्षा गर्ने बताएपछि चीन अमेरिकासँग चिढिएको छ।

चीनले ताइवान मुद्दामा वैदेशिक हस्तक्षेप मान्य नहुने चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार पत्रकार सम्मेलनमा ‘ताइवान चीनको एक अविभाज्य हिस्सा’ भएको उल्लेख गरेका हुन्।

उनले ताइवान मुद्दा चीनको आन्तरिक मामिला भएकाले यसमा वैदेशिक हस्तक्षेप मान्य नहुने पनि बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएपछि चीनको कडा प्रतिक्रिया आएको हो। शुक्रबार राष्ट्रपति बाइडेनले चीनले आक्रमण गरे ताइवानको रक्षा गर्ने अभिव्यक्ति दिएका थिए। तर पछि ह्वाइट हाउसले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारेको थियो।

प्रवक्ता वेनबिनले पत्रकार सम्मेलनमा भने, ‘जब चीनको सम्प्रभुता र क्षेत्रीय एकताजस्ता कुरा आउाछन् त्यसमा कुनै प्रकारको छूटका लागि ठाउँ छैन।’ उनले अगाडि भनेका छन्, ‘ताइवान चीनको अविवादित भूभाग हो। ताइवान मुद्दा चीनको आन्तरिक मामिला हो। यसमा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप मान्य छैन।’

त्यस्तै उनले ताइवानका बारेमा बोल्दा अमेरिकालाई शब्दमा ध्यान दिन पनि चेतावनी दिएका छन्। ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी शक्तिलाई कुनै पनि गलत प्रकारको संकेत दिने अभिव्यक्ति नदिन पनि चीनले अमेरिकालाई चेतावनी दिएको छ। ‘एक अर्ब ४० करोड जनसंख्याको विपक्षमा नउभिनुस्,’ प्रवक्ता वेनबिनले भने।

ताइवानको रक्षाका बारेमा अमेरिकाले लामो समयदेखि ‘रणनैतिक अस्पष्टता’ को नीति अँगाल्दै आएइको छ। यदि चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकी कदम कस्तो हुन्छ भन्ने स्पष्ट नीति नै छैन। अमेरिकाले ताइवानलाई विभिन्न प्रकारका प्रतिरक्षात्मक हतियार भने उपलब्ध गराउँदै आएको छ।

अमेरिकाले ताइवान रिलेसन्स एक्टअन्तर्गत रहेर ताइवानसँग रक्षा सम्बन्ध कायम गर्दै आएको छ। बाइडेनले चीन, रुसलगायतका मुलुकले सैन्य शक्ति बढाउँदै गएकोमा पनि आफू चिन्तित नरहेको बताएका छन्।

‘चीन, रुस र बाँकी विश्वलाई हामीसँग इतिहासकै सबैभन्दा शक्तिशाली सैन्य शक्ति छ भन्ने कुरा थाहा छ,’ उनले भने, ‘त्यसैले उनीहरू शक्तिशाली बन्दैछन् भन्ने कुरामा चिन्ता लिनुपर्दैन।’

‘एक चीन’ नीति अन्तर्गत अमेरिकाले ताइवानमाथि चिनियाँ सम्प्रभुताको दाबीलाई स्वीकार गर्दै आएको छ। पछिल्ला दिनमा चीनले ताइवानको आकाशमा युद्धविमान उडाएको थियो। त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि ताइवानसँगको एकीकरण अपरिहार्य रहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्