बुटवलमा साढे छ लाख मूल्यको अवैध काठ बरामद

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : १२


बुटवल। रूपन्देहीमा साढे छ लाख मूल्य बराबरको अवैध काठ प्रहरीले बरामद गरेको छ। रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र कंचन गाउँपालिकाबाट प्रहरीले अवैध काठ ट्याक्टरसहित नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका– १ खुनगाईमा सोही नगरपालिका– १० बस्ने २७ वर्षीय जितेन्द्र यादवले लु१त १२६१ नम्बरको ट्याक्टरमा चार लाख रुपैयाँ बराबरका १५ गोलिया काठ अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, प्रहरी चौकी व्यहोरी रूपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कंचन गाउँपालिक– १ कुत्तागाउँस्थित लु६१प ९४९७ नम्बरको मोटरसाइकलमा लोड गरेको सालको काठको गोलिया एक थान र खाली जमिनमा रहेका तीन गोलिया गरी ३८.७२ क्युबिक फिट काठ बरामद गरेको जनाएको छ।

उक्त काठको मूल्य दुई लाख ४५ हजार रुपैयाा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायि उपरीक्षक सत्यनारायण थापाले बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट बरामद भएको काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको र कंचन गाउँपालिकाबाट बरामद भएको काठ कंचन सबडिभिजन कार्यालय फायरलाइन पठाइएको उनले जानकारी दिए।

प्रहरीले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो। अवेध रूपमा काठको ओसारपसार हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीलाई गस्तीमा पठाइएको र गस्तीका क्रममा काठ बरामद भएको थापाले बताए।


प्रतिक्रिया दिनुहोस्