ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र सञ्चार सेवा अवरुद्ध

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : ०९


ताप्लेजुङ। ताप्लेजुङमा पाँच दिनदेखि इन्टरनेट र मोबाइल सेवा अवरुद्ध भएको छ। सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूर सञ्चार सेवा अवरुद्ध बनेको छ।

आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी परेकाले अप्टिकल फाइबरमा समस्या आएका कारण दूर सञ्चार सेवा अवरुद्ध बनेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दिपेन खवासले जानकारी दिए।

उनका अनुसार अविरल वर्षापछि पानी जमेका कारण इटहरी र विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबरमा समस्या आएपछि सेवा अवरुद्ध बनेको हो।

इन्टरनेट अवरुद्धले बैंकिङमा सेवामा समेत समस्या आएको छ। इन्टरनेट नहुँदा वित्तीय कारोबार गर्नका लागि चेक बोकेर बैंकसम्म पुक्ने बैंकका सेवाग्राहीहरू रित्तो हात फर्कनु परेको ताप्लेजुङको चन्द्र बहादुर पन्दाकले बताए।

मोबाइल सेवा प्रदायक एनसेल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाईन र वर्डलिंकलगायतका सेवा पनि अबरुद्ध भएपछि बैंकिङ कारोबारमा समस्या आएको हो।

मोबाइल सेवा अवरुद्ध हँुदा प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजाआजा गर्न आउने तीर्थयात्रीहरू र विश्वको तेस्रो कञ्चनजंघा हिमालमा भ्रमण गर्न आउने पर्यटकहरूले समस्या खेप्नुपरेको छ।


प्रतिक्रिया दिनुहोस्