धनुषामा पाउजु लुट्न पुगेका व्यक्तिले एक महिलाको घाँटी रेटी हत्या गर्न खोजे

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ०९


जनकपुरधाम। धनुषामा एक महिलाले लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको विदेह नगरपालिका– ६ गिद्धा बस्ने ५० वर्षीया जमुन देवीले खुट्टामा लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने स्थानीय ३५ वर्षीय रामभजन महतोलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार बिहान ११ बजे चौरमा घाँस काटिरहेका बेला जमुनको घाँटीमा छुरा रेटेर महतोले पाउजु लुट्ने प्रयास गरेका थिए।

छुरा प्रहारले जमुनको घाँटीमा काटिएर रगत आएको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए।

अहिले जमुनको स्वास्थ्य अवस्था ठिक रहेको र घटनामा संलग्न महतोलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा महतोले जमुनको पाउजु लुट्न हत्याको प्रयास गरेको खुल्न आएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्