आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ५ : २२


तनहुँ। तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बनेका छन्। २५ असोजमा बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्जयाङकी ९ वर्षीया बालिका स्वीकृति थापाको नरभक्षी चितुवाको आक्रमणमा परी मृत्यु भयो।

साँझपख पसलबाट मासु लिएर घर फर्कंदै गरेकी उनलाई बाटैमा चितुवाले झम्टिएर जंगलमा फ्याँक्दियो। चितुवाले आक्रमण गरेको स्थानबाट तीन सय मिटर पर जंगलमा बालिकाको शव गाउँलेले फेला पारे। उक्त दिन गाउँमा चितुवाले बाख्रालाई आक्रमण गरेको थियो। बाख्राको रगत पूरा पिउन नपाउदैँ लेखेटिएको झोकमा चितुवाले मासु लिएर आएकी बालिकालाई आक्रमण गरेको स्थानीय भीमबहादुर मगरले बताए।

मगरका अनुसार गएको सोमबार पनि गाउँबाट चितुवाले बाख्रा आक्रमण गरी जंगलतिर लगेको थियो। मान्छेलाई नै आक्रमण गर्ने पो हो कि भन्ने डरले बाख्रा खोज्न गाउँले जंगल पस्न सकेनन्। बारम्बार चितुवा गाउँ बस्न थालेपछि गाउँले त्रासमा रहेका उनले बताए।

लोहीआरे खेत्रके सामुदायिक वन गाउँसँगै जोडिएको छ। सामुदायिक वनका अध्यक्षसमेत रहेका मगरका अनुसार दिनादिनु वन घना हुँदै छ। वस्ती घट्दैछ। उनी भन्छन्, ‘गाउँमा चितुवा बारम्बार आइरहन्छ। बाख्रालाई आक्रमण गरिरहन्छ। कहिलेकाहीँ मान्छेलाई पनि झम्टिन्थ्यो। २५ गते त मान्छे नै मार्‍यो।’

चितुवाले मान्छेलाई आक्रमण गरेर मारेपछि गाउँलेले असुरक्षित महसुस गरेको उनले बताए। ‘घाम अस्ताएपछि झ्यालढोका थुनेर घरभित्र बस्न थालेका छौँ। केटाकेटीलाई कसरी जोगाउने भन्ने चिन्ता छ। घाँसदाउरा काट्न जंगल जान पनि छोडियो’, भीमबहादुरले सुनाए।

चितुवा आक्रमणमा बालिकाको मृत्यु भएको यो घटना तनहुँमा पहिलो होइन । चितुवाको आक्रमणमा परी हालसम्म ११ जना बालबालिकाको मृत्यु भएको छ । १ फागुन २०७४ मा पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय बालक विशाल श्रेष्ठलाई चितुवाले सिकार बनायो । त्यसपछि चितुवाले श्रृखंलाबद्ध बालबालिकालाई आक्रमण गरिरहेको छ । झण्डै चार वर्षसम्म पनि चितुवाको आक्रमण रोकिएको छैन । ज्यान गुमाएका सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन् । यो अवधिमा १२ जना चितुवाको आक्रमणमा परी घाइते भएका छन् । घाइते एकाध मात्रै वयस्क हुन्, अधिकांश घाइते बालबालिका नै छन् ।

गएको ३० जेठमा व्यास नगरपालिका–१२ कमलवारीकी साढे २ वर्षीया अनुष्का परियारलाई चितुवाले घरमै आक्रमण गर्दा उनी घाइते भएकी थिइन् । २४ फागुन २०७७ मा बन्दीपुर गाउँपालिका–१ भुजेलगाउँका अक्कलबहादुर चेपाङलाई चितुवाले आक्रमण गर्दा घाइते भएका थिए । २१ भदौ २०७७ मा शुक्लागण्डकी नगरपालिका–२ मसारका १९ महिने नारायण रानालाई घरकै पिँढीबाट चितुवाले आक्रमण गरेर लगेको थियो ।

आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा

चार वर्षको अविधमा जिल्लाको भानु नगरपालिकामा चितुवाको आक्रमण बढी भयो । भानुमा चितुवाको आक्रमणबाट ६ जनाको मृत्यु र सात जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिकामा मृत्यु र घाइते हुनेको संख्या दुई÷दुई छ । शुक्लागण्डकी नगरपालिकामा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् । आँबुखैरेनीमा एक÷एक जना मृत्यु र घाइते भएका तथ्याङ्क डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । व्यास नगरपालिकामा पनि चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन् ।

भानुमा पछिल्लो डेढ वर्षदेखि चितुवाको आक्रमण रोकिएको छ । तर, जिल्लाको कुनै ठाउँमा चितुवाको आक्रमणको खबर सुनेपछि होसहवास उड्छ भानुवासीको । ‘एक वर्षदेखि आक्रमण त भएको छैन । अन्त कतै चितुवाले आक्रमण ग¥यो भन्ने सुन्ने बित्तिकै डर बढ्छ । त्यसपछि सर्तक बनिहाल्छौँ’, भानु नगरपालिका–२ की शान्ति अधिकारीले बताइन् ।

अहिलेसम्म चितुवाले केहीलाई घरमै आएर त केहीलाई घर वरपरको बाटोमा आक्रमण गर्ने गरेको छ । जंगल छाडेर चितुवाको पाइला वस्तीतिर लम्किएको छ । जंगलमा आहाराको कमि हुँदा चितुवा वस्ती छिर्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउँछन् ।

काफ्लेका अनुसार चितुवा जंगली जीवजन्तुमा आश्रित जनवार हो । मृग, बादर, खरायोजस्ता जनवारलाई शिकार गरेर चितुवाले आफ्नो आहारा बनाउँछ । कहिलेकाही वस्तीतिर पसेर घरपालुवा कुकुर, बाख्रा, भेडा, गाईको बाच्छाबाच्छी र भैंसीको पाडापाडीलाई पनि शिकार गर्ने जनवार हो चितुवा । तर, तनहुँमा भने घरपालुवा जनावारलाई कम शिकार गर्ने र मान्छेलाई नै बढी आक्रमण गर्ने गरेको पाइन्छ ।

‘वन जंगलमा चितुवाको आहारा प्रजाति कम छन् । वस्ती रित्तिएर झाडी भएका छन् । झाडी उनीहरूको वासस्थान हो । वस्ती वरपरको झाडीमा वासस्थान बनाएर बसिरहेका छन् । आहारा नभएपछि मान्छेलाई आक्रमण गर्ने गरेका छन्’, उनी भन्छन्, ‘घाइते, बुढो भएर वन्यजन्तुको शिकार गर्न नसक्ने चितुवाले वस्तीमा पसेर बालबालिकालाई आक्रमण गर्ने गरेको छ ।’ प्रतिकार गर्न नसक्ने हुँदा चितुवाले बालबालिकामाथि आक्रमण गर्ने उनी बताउँछन् ।

चितुवाको आक्रमण रोक्न उसले आहारा बनाउने वन्यजन्तुको चोरी शिकारी रोक्न सर्वसाधारणले भूमिका खेल्नुपर्ने उनले बताए । चितुवालाई एक ठाउँबाट नियन्त्रणमा लिएर अर्को ठाउँमा लगेर छोड्दैमा आक्रमणको सिलसिला नरोकिने काफ्लेको भनाइ छ । एउटा चितुवालाई नियन्त्रणमा लिएपछि अर्को चितुवाले त्यो क्षेत्रलाई आफ्नो बनाउने उनले बताए ।

‘आक्रमणबाट बच्नलाई सावधानी अपनाउनुपर्नेछ । टोलटोलमा अब हामी एक्लै हिँड्न हुन्न, बच्चालाई विशेषगरी साँझको समयमा एक्लै छोड्न हुदैन । घर वरपरको झाडी फाँड्नुपर्छ भन्ने चेतना हुन जरुरी छ’, उनले भने ।

जंगलमा वासस्थान विनाशसँगै खण्डीकरण, आहाराको अभाव, पानीको अभाव र वन डढेलको कारण चितुवा वस्तीमा पसेर आक्रमण गर्ने गरेको विज्ञहरू बताउँछन् । वन कार्यालय तनहुँले जंगलमा पोखरी बनाउने अभियानसमेत चलाएको छ ।

जिल्लामा नरभक्षी चितुवालाई नियन्त्रणमा लिन विभिन्न प्रयास गरिएको छ । चितुवाको आतंक अचाक्ली बढेपछि जंगलमा फुट ट्रयाप, क्यामेरा ट्रयापिङ, बाख्रासहितको फलाम र काठको परम्परागत खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास भए । सुटर र विज्ञसहितको टोलीले सर्च अपरेसन चलायो । परम्परागत काठको खोरमा थापिएको पासोबाहेक अरु विकल्प त्यति प्रभावकारी भएन । चितुवा आक्रमण भएको स्थानमा तत्कालै फलामे खोरको वन कार्यालयले राख्ने गरेको छ । क्यामेरा ट्रयापिङ गर्दा चितुवा वस्तीको आसपासमा बढी भेटिएको वन कार्यालयका कर्मचारी बताउँछन् ।

चितुवा र मानवबीचको द्वन्द्व बढ्दो पाइन्छ । पछिल्लो चार वर्षमा जिल्लाका विभिन्न स्थानमा २२ चितुवा मृत भेटिएको छ । चितुवाको आक्रमण बढेपछि १७ वटालाई समातेर जिल्लावाहिर लगेर छाडिएको छ । उद्धार गरिएको चितुवा मानव वस्तीमा आएका र नियन्त्रणमा लिन पासो थाप्दा परेका हुन्l


प्रतिक्रिया दिनुहोस्