मुस्ताङ पुग्यो कबड्डी–४ टोली

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : ११


काठमाडौंँ। अभिनेता दयाहाङ राई अभिनित फिल्म ’कबड्डी’को चौथो सिरिज छायांकनको लागि फिल्म युनिट मुस्ताङ पुगेको छ। फिल्मका निर्देशक रामबाबु गुरुङ प्रोडक्सन टिमसँग ३ कात्तिकमा मुस्ताङ पुगेका थिए।

फिल्मका कलाकारहरू पनि शुक्रबार छायांकन स्थलमा पुगिसकेका छन्। ३५ दिनको सेड्युल लिएर छायांकनमा निस्किएको टोलीले शनिबार भोलिबाट काम सुरु गर्नेछ।

‘हामी सबै तयारी गरिरहेका छौं। सबै मिलेमा भोलिबाट छायांकन सुरु गर्नेछौँ’, निर्देशक गुरुङले भने। उनले कबड्डीदेखि नै मुस्ताङको कथालाई देखाउँदै आएका छन्। काजीको प्रेम यात्रा भनिएको कबड्डीको चौथो सिरिजलाई ‘कबड्डी ४ः फाइनल म्याच’ भनिएको छ।

फिल्ममा दयासँगै सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतका कलाकारको अभिनय रहनेछ। मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्मको सेड्युलअनुसार काम भएमा यसैवर्षको अन्त्यसम्ममा प्रदर्शनमा आउन सक्नेछ।

निर्देशक गुरुङ वितरकहरूसँगको सल्लाहमा मात्र डेट घोषणा गर्ने बताउँछन्। ‘छायांकन सकिएपछि बाँकी काममा लाग्ने समयको अनुमान गरेर फिल्म रिलिज घोषणा गर्ने छौँ’, निर्देशक गुरुङले भने।


प्रतिक्रिया दिनुहोस्