आफ्नै पार्टीको सरकारको आलोचना गर्दै गगन थापाले भनेः सरकारले गति समात्न सकेन

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ४ : ०८


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले गति समात्न नसकेको बताएका छन्। सय दिनमा सरकारले आशलाग्दो सुरुवात गर्न नसकेको उनको भनाइ थियो।

नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने,‘सरकारले जुन गति समाउनुपर्ने हो त्यो गति हामीले पक्रिनसकेका छैनौं। नेपाली नागरिकलाई डर लागेको छ। जसरी हामीले पहिलोपटक २००७ सालपछि खेर फाल्यौं। फेरि १९९० पछि खेर फाल्यौं। अहिले फेरि एउटा मौका खेर फाल्दैछौं कि भनेर डर लागिरहेको छ।’

नेता थापाले हाम्रो अगाडि केही मौकाहरु बाँकी रहेको र यस्तो बेला सम्हालिनुपर्ने आवश्यकता औल्याए।

‘एसियाभित्र भारत र चीनलाई केन्द्र बनाएर विश्वको राजनीति, विश्व अर्थतन्त्र चलिरहेको छ। त्यसको नजिक हामीहरु छौं र यो अवसर १५–२० वर्ष अझै रहनेछ। नेपाल लाभ लिनसक्यो भने सक्यो। नत्र हामी चुक्छौं। नेपालले प्रगति गर्न सक्दैन,‘उनले भने।


प्रतिक्रिया दिनुहोस्