फिल्म सुटिङ गर्न मनाङ पुगे अनुपम, परिणिती र बोमन

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ४९


काठमाडौंँ। गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ। काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ।

लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ। दुई दिनअगाडि नै प्राविधिक पुगेर छायांकनको लागि तयारी सकेपछि फिल्मका मुख्य कलाकारहरू अनुपम खेर, परिणिती चोपडा र बोमन इरानी पनि मनाङ पुगेका छन्।

आठ दिनको सेड्युल लिएर मनाङमा पुगेको युनिटले निर्धारित समयमा नै छायांकन सकाएर फर्किनेछ। दुई दिन छायांकन नहुने भएपछि फिल्मका मुख्य कालाकारहरू अनुपम, बोमन र परिणिती काठमाडौंँ फर्किएका थिए। उनीहरू शुक्रबार मनाङ पुगेका हुन्।

जहाँ उनीहरूलाई स्थानीय परम्पराअनुसार स्वागत गरिएको छ। अनुपम स्थानीय संस्कृतिसँग घुलमिल भइरहेको आभास उनको सामाजिक सञ्जालमार्फत सहजै लगाउन सकिन्छ। नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले मौसमले केही समस्या ननिम्त्याए निर्धारित समयमै छायांकन सकेर फिल्म युनिट काठमाडौं हुँदै भारत फर्किने बताए।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडालगायतको अभिनय रहेको छ। यद्यपि, सो फिल्म सुटिङका लागि अमिताभ बच्चन भने नेपाल आएका छैनन्।

चार जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ। बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ।

नेपालमा ३० दिनको छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस्