काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन्। नाति नातिनीसहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन्।
साहसिक गतिविधिमा आफूलाई रुची लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए। पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ।
सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रालिमार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका छन्।
जिपलाइनको टेक अफ थाक्लेडाँडा, धुलिखेलदेखि ल्यान्डिङ स्टेसन खावा, पाँचखालसम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ। भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।
काठमाडौंबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम जोडी गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।
खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन्। त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ।