दसैं सकियो, गाउँ रित्तियो

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ५१


विनोद ढुंगाना/न्युज कारखाना

भीमाद नगरपालिका–१ हुक्कामा दसैंभर खुब चहलपहल थियो । गाउँका सबैजसो परिवारका सदस्य दसैं मनाउन घर फर्किएका थिए । पढाई, जागीर र सुखसयल खोज्दैँ बजार झरेकाहरू दसैं मनाउन गाउँ फर्किएका थिए । अरु बेला सुनसान हुने गाउँका हरेक घरमा सपरिवार भेला हुँदा छुट्टै रौनक थियो । तर त्यो रौनक दसैं सकिएसँगै हराएको छ । हुक्काका एकबहादुर झेडी मगर भन्छन्, ‘छोराबुहरी नातिनातिना दसैं मनाउन गाउँ आएका थिए । दसैं मनाएर फर्किसके । अब घरमा हामी बुढाबुढी मात्रै छौँ ।’

झेडीको घरमा मात्रै होइन यहाँका अधिकांश घरको कथा उस्तैं छ । दसैं मनाउन आएका आफन्तजन फर्किएपछि गाउँघर सुनसान बन्न थालेका छन् । ‘छरछिमेक जताततै रमाइलो थियो । अब फेरि त्यस्तै चहलपहल र रमाइलो हुन त अर्को दसैं कुर्नुपर्छ,’ उनले भने । अब कहिलेकाहीँ पूजाआजा हुँदा मात्रै आफन्तसँग भेटघाट होला नभए अर्को दसैं नै कुर्नुपर्ने उनले बताए ।

स्थानीय कल्पना केसी पनि दसैं मनाउन गाउँ आएका सबै फर्किएपछि अहिले गाउँ सुनसान बनेको बताउँछिन् । ‘दसैं मनाउन सबै घरमा परिवार जुटेका थिए । दसैंको टीका लगाएपछि फर्किए । पूर्णिमाको दिनसम्म सबै फर्किए । फेरि घरमा बुढाबुढी एक्ला भएका छन्,’ उनले भनिन् ।

हुक्का त केवल प्रतिनिधि गाउँ मात्रै हो । तनहुँका हरेकजासो गाउँको अवस्था यस्तै छ । ग्रामीण भेगका अधिकांश गाउँ दसैं सकिएसँगै रित्तिएका छन् । दसैं मनाउन घटस्थापनादेखि गाउँ उक्लनेको लर्को टीकाको दिन विहानसम्मै थियो ।

ऋषिङ गाउँपालिका–६ दुकुडाँडाका दानबहादुर आलेका अनुसार गाउँ फेरि एक्लिएको छ । गाउँमा अब बुढापाका मात्रै छन् । ‘दसैंका बेला गाउँका सबैसँग भेट भयो । रमाइलो भयो । टीका थापेपछि फर्कने क्रम सुरु भयो । हिजोसम्म प्राय सबै फर्किसके,’ उनले भने । गाउँ छाडेकामध्ये केही फेरि तिहारमा फर्कन्छन् । तर दसैंमा जस्तो सबैजना नआउने हुँदा खासै चहलपहल हुँदैन । उनका अनुसार बर्षेनी गाउँ रित्तिदैँ छ । गाउँको माया र अन्त कतै जाने ठाउँ भएकाहरू मात्रै गाउँमा भेटिन्छन् । आले भन्छन्, ‘गाउँमा सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको उचित प्रबन्ध भएको भए रोकिन्थेँ की रु’

जिल्लाका ग्रामीण क्षेत्रबाट सदरमुकाम दमौली, दुलेगौंडा, खैरेनीटार, डुम्रे, आँबुखैरेनी, भिमादलगायतका बजारमा झरेका छन् । काठमाडौं, पोखरा, चितवनलगायत ठूला सहरमा बसाइँ सर्ने पनि उत्तिकै छन् । बजार गुल्जार हुँदा गाउँ निर्जन हँुदैछ । तनहुँका १० स्थानीय तहमध्ये ऋषिङ, घिरिङ, आँबुखैरेनी र देवघाट गाउँपालिकाका ग्रामीण भेगबाट विशेगागरी बजार झर्ने प्रचलन अलि बढी छ । अरु स्थानीय तहका ग्रामीण बस्ती पनि रित्तिदै छन् । बुढापाकाले धानेका छन् गाउँघर अनि खेतीपाती ।

विपत्तिमा गाउँकै भरथेग

शहर बजार पसेकाहरू ०७२ सालमा विनाशकारी भुकम्प जाँदा गाउँ फर्किएका थिए । त्यसपछि कोरोना भाइरसले महामारीको रुप लिएपछि पनि सुरक्षित ठाउँ खोज्दै गाउँ पस्नेको लर्को लागेको थियो । त्यतिबेला फर्केएका केही त अब शहर नफर्कने प्रण गरेर गाउँमै बसेका थिए ।

दसैंको बेलाबाहेक गाउँ फर्कनेको लर्को लागेको पछिल्लो दशकमा भुकम्प र कोरोनाको बेला मात्र हो । नत्र शहर झरेकाहरूको गाउँ फर्कने लर्को हरेक बर्ष दसैं अगाडी मात्र हुन्छ । जब दसैं सकिन्छ फेरि रित्तिन्छ गाउँ ।


प्रतिक्रिया दिनुहोस्