हलिउड निर्देशक क्वान्टिन टेरेन्टिनोले १० वटा फिल्म पुगेपछि सन्न्यास लिने घोषणा गरेका छन् । यसकारण पनि उनको फिल्म प्रतीक्षितसँगै चर्चित हुने गरेको छ।
उनको नवौं फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ सुटिङ अघि नै यस्तो घोषणा भएको थियो । यसकारण पनि उनको अन्तिम तथा १०औँ फिल्मको प्रतीक्षा हलिउडप्रेमी दर्शकलाई छ।
टेरेन्टिनोको पछिल्ला तीन फिल्म इतिहाससँग सम्बन्धित थिए । त्यसैले अब अन्तिम फिल्म अहिलेसम्म काम नगरेको हरर विधामा काम गर्ने अनुमान उनका फ्यानले गरिरहेका छन्। यद्यपि रोम फिल्म फेस्टिबलमा कुराकानी गर्दै आफ्नो सफल प्रोजेक्ट किल बिलको तेस्रो फ्रेन्चाइजी ल्याउन सक्ने संकेत गरेका छन्।
तर, उनले त्यसअघि एक कमेडी फिल्म बनाउने इच्छा जाहेर गरेका छन् । उनले उक्त प्रोजेक्टलाई आफ्नो स्टाइलको नरहेको समेत जनाएका छन् । यद्यपि उनले आफू उक्त प्रोजेक्ट बनाउन आतुर रहेको बताएका छन् । उनको यो पछिल्लो भनाइले उनले आफ्नो निर्देशकीय यात्रा १० फिल्ममै समाप्त गर्छन् या गर्दैनन् रु भन्ने प्रश्नसमेत उठेको छ । किनकि उनले कमेडी जनर र किल बिल ३ लाई आफैले निर्देशन गर्ने संकेत गरेका छन् ।
तर, टेरेन्टिनोले आफू उचाइमा रहँदा नै फिल्म निर्देशनबाट पाखा लाग्ने निर्णय गर्नु राम्रो रहेकाले यस्तो निर्णय गरेको बताउँछन् । असफल हुन थालेपछि सन्न्यास लिँदा फिल्ममेकरलाई सजिलो महसुस नहुने उनको धारणा छ । अभिनय हुँदै निर्देशनको करिअरको सुरु गरेका क्वान्टिनले ‘रिजोर्भोयर डग्स’बाट निर्देशकको यात्रा सुरु गरेका थिए । यो फिल्मले व्यापारिक सफलतासँगै कालान्तरमा ‘कल्ट क्लासिक’को स्ट्याटस पाएको थियो ।