प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : १४


प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको प्रदेश सभा बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक तोकिएको समयमा बस्न सकेको छैन। सभामुख प्रदीपकुमार भण्डारीले बिहान १०ः३० बजेका लागि बैठक बोलाएका थिए।

नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्ने रणनीतिअनुरूप सभामुखले बैठक नराखेको आरोप लगाए । सत्ता पक्षका सांसदहरूले भने बाढीपहिरोका कारण सांसद नआइपुगेकाले सहमतिमै सर्नसक्ने बताएका छन्।

एमाले सांसद हिक्मतबहादुर कार्कीले बाढीपहिरोका कारण सबै सांसद नआएकाले बैठक सर्ने सम्भावना रहेको बताए। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया लम्ब्याउने पक्षमा आफूहरू नभएको उनले दाबी गरे।

सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेशसभा सचिवालयमा विश्वासको मत प्रस्ताव दर्ता गराएका छन् । ५ कात्तिक दिउँसो १ बजे बैठक बस्ने गरी सूचना टाँस गरिएको थियो।

आजको बैठक सार्नुपर्ने पक्षमा सत्ता पक्ष छ । तर विपक्षी गठबन्धन आजै विश्वासको मत लिनुपर्ने पक्षमा छन्।

९२ सदस्यीय प्रदेश सभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक(एकजना सदस्य छन् । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।


प्रतिक्रिया दिनुहोस्