प्रहरी र सशस्त्र प्रहरीमा अब कसैलाई पनि ‘तँ’ भन्न नपाईंने! ठकुरी गृहमन्त्रीको यस्तो निर्देशन

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : ३१


काठमाडौं । ‘चेन अफ कमाण्ड’मा चल्ने सुरक्षा संगठनमा माथिल्लो अधिकारी अर्थात ठूलाबडा हाकिमबाट निकै हप्कीदप्की सहनुपर्छ।

आफूभन्दा माथिल्लो दर्जाका कर्मचारीले तल्लोस्तरको भाषा प्रयोग गर्नाले ती सुरक्षा संगठनमा काम गर्ने कर्मचारीहरुले निकै अपमान सहनुपर्छ।

२४ सै घण्टा सुरक्षामा तैनाथ रहने सिपाही तथा निम्नदर्जाका कर्मचारीले न्युन तलब, बढी काम सँगसँगै हाकिमहरुबाट अपमान पनि सहनुपर्ने बाध्यता छ।

प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको नागरिकहरुसँग प्रत्यक्ष सम्बन्ध पनि हुनेगर्दछ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा गृहमन्त्री रहेका बालकृष्ण खाँडले ती सुरक्षा निकायमा अब सबैलाई सम्मान गर्न निर्देशन दिएका छन।

ठकुरी थरका गृहमन्त्रीले आफ्नो मन्त्रालय मातहतका तीन वटै सुरक्षा निकायलाई बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन।

यो सँगै अब ती संगठनहरुमा कसैलाई पनि ‘तँ’ भन्न नपाइने अर्थात ‘तपाईं’ भनेर सम्बोधन गर्नुपर्ने भएको छ।

अब ती संगठनका कर्मचारीले एकले अर्कालाई सम्मान गर्दै मुस्कान सहितको सेवा दिने विश्वास गरिएको छ।

गृहमन्त्री खाँडले शुक्रबार गृह तथा सुरक्षा निकायका उच्च अधिकारीहरुसँगको छलफलका क्रममा उक्त निर्देशन दिएका हुन्।

सो कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्