आफ्नो उपचारमा ढिलाइ गरेको भन्दै २ युवाले गरे अस्पतालमा तोडफोड

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : ०९


चितवन। पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालमा बिहीबार राति तोडफोड गरिएको छ। राति पौने १२ बजे दुई युवाहरूले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन्।

हातमा सामान्य चोट लागेर उपचार गर्न आएका दुई युवाहरूले उपचारमा ढिलाइ भएको झोकमा अस्पतालमा तोडफोड गरेका हुन्।

पहिचान खुल्न नसकेका युवाहरूले अस्पतालका सुरक्षागार्डलाई समेत हातपात गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

तोडफोडबाट अस्पतालको नयाँ भवनको एउटा ढोकाको सिसा फुटेको छ भने कुर्ची भाँचिएका छन्।

प्रहरीले युवाहरूले प्रयोग गरेको एउटा ‘अनटेष्ट’ मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छन् । सीसी क्यामेरा फुटेजमा युवाहरूको हुलिया पहिचान भइसकेको र उनीहरूलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने डिएसपी रानाले बताए ।


प्रतिक्रिया दिनुहोस्