नेपाली काँग्रेसका सभापति समेत रहेका हालका प्रधानमन्त्री शेरबहादुर देउवा रुखो बोलीका कारण पटकपटक विवादमा पर्दै आएका छन।
यसअघि प्रधानमन्त्री रहेकै बेला बीबीसी नेपाली सेवाको कार्यक्रम ‘साझा सवाल’मा एक युवाको प्रश्नमा देउवाले आक्रोश पोखेका थिए।
बोलीकै कारण देउवाले धेरै आलोचना खेप्नुपर्यो। देउवाले औंला ठड्याउँदै ‘तपाईं बढ्ता बोल्दैहुनुहन्छ’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यद्यपी यसलाई देउवाका समर्थकहरु भने उनको ‘स्पष्ट बोल्ने बानी’ रहेको भन्दै प्रशंसा गर्छन।
हाल प्रधानमन्त्री रहेका देउवाले कन्चनपुरमा पनि सोही बोली दोहोर्याए। सुदूरपश्चिममा अविरल बर्षा पछि आएको बाढी/पहिरोले पुर्याएको क्षतिको अवलोकनका लागि निस्केका देउवाले विभिन्न जिल्लाको छोटो भ्रमण गरेका थिए।


कञ्चनपुरको दोधाराचाँदनीमा आयोजित एक कार्यक्रममा देउवाले आफूले प्रभावित क्षेत्रको अवलोकन गरेको र बाढी/पहिरो पीडितका लागि सरकारले राहत घोषणा गर्ने बताए।
देउवा सो कार्यक्रममा बोलिरहँदा एक युवकले ‘सुनिएन् प्रधानमन्त्री ज्यू अलि ठूलो स्वरमा बोलिदिनुपर्यो’ भनेपछि देउवा एक्कासी आक्रोशित भए।
देउवाले लगत्तै जवाफ फर्काए, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ चुप लाग्नुस्’। देउवाले ती युवकलाई चुप लाग्नुस् भन्दा उनी फेरि बोलेनन्।
कार्यक्रमका सहभागीहरु भने देउवातर्फ हेरेर कोहि मुस्कुराउँदै थिए।