पिथौरागढमा कार दुर्घटनाः भारतीय सेनाका रिटायर्ड ब्रिगेडर, २ नेपाली सहित ५ जनाको मृत्यु

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : १५


बैतडी । नेपाल-भारत सीमा नजिकैको उत्तराखण्डको पिथौरागढमा कार दुर्घटना हुँदा २ नेपाली सहित ५ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन।

पिथौरागढको थलभुवानी नजिकै पीएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर कार भिरबाट खसेर दुर्घटना भएको हो।

दुर्घटना परि भारतीय सेनाका रिटार्यड ब्रिगेडियर बिनोद चन्द, बैतडीको पाटनस्थित खिमाली गाउँका दीपक अवस्थी, मदन मोहन जोशी, पिथौरागढकै कल्याण चन्द र रघुबिर सिंहको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। घाइते रहेका अन्य २ जनाको उपचार जारी रहेको छ।

कार बिग्रेडर चन्द आफैले चलाएका थिए। चन्दको गाउँ बुगामा बुधवारै कूल पूजा थियो। पूजाका लागि चन्दले बैतडीबाट पुजारी जोशी र अवस्थीलाई बोलाएका थिए।

पूजाभन्दा अगाडि पुजारीहरुलेले चन्दलाई स्नानका लागि कर्णप्रयाग तीर्थस्थल जाने सल्लाह दिएका थिए।

स्नान गरेर कूलपूजाका लागि फर्किदै गर्दा उनीहरु सबै चढेको कार दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ। अवस्थी र जोशी चन्दका कूल पुजारी थिए।

दुर्घटनामा मृत्यु भएको मदनमोहन जोशी बैतडीको पाटन क्याम्पसका उपप्राध्यापक समेत हुन्।

चन्दको पुख्र्यौली घर पनि बैतडीको पाटनमै हो। चन्द सन् १९९९ को कारगिल युद्धका घाइते समेत हुन्।

यसबाहेक उनले भारतीय सेनामा रहदा धेरै युद्धमा सामेल भएका थिए।


प्रतिक्रिया दिनुहोस्