उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज शुक्रबार तीन खेल हुनेछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल बिहान ९ बजे समूह ‘सी’को भक्तपुर नगरपालिका र बासगढी नगरपालिकाबीच हुनेछ ।
दोस्रो खेलमा समूह ‘डी’को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्। खेल दिउँसो १२ बजे हुनेछ। आजको अन्तिम तथा तेस्रो खेलमा दिउँसो ३ बजे समूह ‘इ’ को सिमकोट नगरपालिका र काठमाडौ महानगरपालिका भिड्नेछन्।
तीनै टोलीको प्रतियोगितामा यो पहिलो खेल हुनेछ । प्रतियोगिता एन्फा मुख्यालयमा भइरहेको छ।
बिहीबार प्रतियोगिताको पहिलो खेलमा समूह ुएु को बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९-० ले हराएको थियो।
जितसँगै बागमतीले तीन अंक जोड्यो । अर्को खेलमा कनकाइ नगरपालिकाले गोदावरी नगरपालिकालाई १२-० ले हराउँदै तीन अंक जोड्यो।
समूह ‘बी’को कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०-० ले हराएको थियो । राष्ट्रिय टोलीका चार खेलाडी सम्मिलित कालिकाले जितसँगै तीन अंक जोड्यो।
प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चार टिम र अन्य समूहमा तीन/तीन टिम छन् ।
प्रतियोगिताको विजेता र उपविजेता टोलिले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।