न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन ।
यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ। बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ। काठमाडौँको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ।