चिनियाँ विदेशमन्त्रीले भनेः राष्ट्रसंघमा नेपालले लगाएको गुन बिर्सने छैन

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : ३२


चीनले संयुक्त राष्ट्रसंघमा आफ्नो पुनः बहालीका लागि नेपालले गरेको समर्थनको पुनः एकपटक स्मरण गरेको छ।

मंगलबार नेपाली समकक्षी नारायण खड्कालाई टेलिफोन गरी चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालले लगाएको गुन कहिल्यै बिर्सन नसक्ने भन्दै कृतज्ञता व्यक्त गरेका हुन्।

नयाँ चीन स्थापनापछि यो वर्ष राष्ट्रसंघमा चिनियाँ उपस्थितिको पचासौं वार्षिकोत्सवका सन्दर्भमा मन्त्री वाङले भने, ‘नेपालले दिएको यो अमूल्य समर्थनलाई चीनले कहिल्यै बिर्सिने छैन।’

दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना हुँदा चीन एउटा संस्थापक मुलुक थियो। तर सन् १९४९ मा जनगणतन्त्रको उदयपछि हटाइएको चीनले सन् १९७१ अक्टोबर २५ मा पुनः सदस्यता पाएको हो।

चीनले यो वर्ष राष्ट्रसंघमा आफ्नो सदस्यताको पचासौं वार्षिकोत्सव मनाइरहँदा तत्कालीन समयमा समर्थन गर्ने मुलुकहरूमध्ये नेपाल पनि एक थियो।

टेलिफोन वार्तामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले राष्ट्रसंघमा आफ्नो सिटको वैधानिक प्राप्तिको स्वर्ण महोत्सवका सन्दर्भमा नेपाललाई सक्दो सहयोगको वचन दिए। उनले साँचो अर्थमा बहुपक्षीयतावादको संरक्षण, अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपको प्रतिरोध, एकपक्षीयतावाद तथा त्रासधम्कीको प्रतिवाद गर्न र दुवै मुलुक तथा क्षेत्रबीचको साझा हितका सवालमा नेपालसँग सहकार्य गर्न चाहेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस्