मिरापिक हिमाल आरोहण गर्न गएका ३ नेपाली र एक बेलायती नागरिक बेपत्ता

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : १८


संखुवासभास्थित मिरापिक हिमाल आरोहणमा गएका ४ जना व्यक्तिहरु बेपत्ता भएका छन्। ६ हजार ४७६ मिटर उचाइको हिमालमा मौसममा आएको खराबीले १ बेलायती र ३ नेपाली नागरिक बेपत्ता भएका हुन्।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले मंगलबारदेखि ४ जना सम्पर्कविहीन भएको बताएका छन्।

लामाले मौसम खराबीको कारण सम्पर्क हुन नसकेकोलाई रेस्क्यु टोलीले खोजी गरिरहेको जानकारी दिए।

‘जीपीएस ट्रेकिङबाट करिब साढे ५ हजारको उचाइमा फसेको भन्ने देखिएको छ’, लामाले भने, ‘हेलिकप्टर पनि तयारी अवस्थामा रहेको छ। मौसम खराबीको करण हेलिकप्टर उडान गर्न सकिएको छैन।’

संघले नै उनीहरुलाई उक्त हिमाल आरोहणको लागि अनुमति दिएको हो।

यसैबीच सोही हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका छन्।

जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि उनीहरु हिउँमा फसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण पाँच हजार ७०० मिटरको मेराला ओडारमा चार, हाइक्याम्पमा चार र पाँच हजार ३०० मिटरको बेसक्याम्पमा दुईजना आरोही फसेका हुन्।

प्राप्त जानकारीअनुसार मेरालामा फसेका चारमध्ये एक बेलायती नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरु पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन्।

त्यस्तै, हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई र बेस क्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका हुन्। उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक आरोहणमा गएका थिए। मौसम प्रतिकूलका बीच पनि उनीहरुको उद्धारका लागि महाकुलुङको खारेबाट सातजना क्लाइम्बिङ गाइड मेराला ओडारमा पुगेका छन्।

एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा चारजना बसेको भए पनि उद्धारमा पुगेकाहरुले तीनजनालाई जटिल अवस्थामा भेटेको बताए। हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भए पनि मेराला ओडारमा फसेकाहरुसँग कुनै पनि खानेकुरा नहुँदा समस्या भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्