तालिबानलाई खुला पत्र लेख्दै मललाले भनिन्ः किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : ४०


इस्लामावाद। नोबेल शान्ति पुरस्कार विजेता मलला युसफजाईले बालिकालाई पढ्न अनुमति दिन अफगानिस्तानका तालिवानलाई अनुरोध गरेकी छिन्।

तालिवानलाई एक पत्र लेख्दै युसफजाईले यस्तो अनुरोध गरेकी हुन्। उनलाई पाकिस्तानका तालिवानले सन् २०१२ को अक्टोबरमा विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए। गम्भिर घाईते बनेकी उनको लामो समयसम्म बेलायतमा उपचार भएको थियो।

दुई महिना अगाडि काबुल कब्जा गरेका तालिवानले अफगानिस्तानमा छात्राहरुलाई विद्यालय नजान निर्देशन दिएका छन्। छात्रहरुका लागि भने कुनै प्रतिबन्ध लगाइएको छैन्।

सुरक्षा सुनिश्चित भएपछि मात्र छात्रालाई पनि विद्यालय जान अनुमति दिइने तालिवान अधिकारीहरुले बताउँदै आएका छन्।

‘शिक्षामा छात्रामाथि लगाइएको प्रतिबन्ध रद्द गरियोस र छात्राहरुको माध्यामिक विद्यालय पनि पुनः सञ्चालन गरियोस्,’ मलला र अफगानिस्तानका अधिकारकर्मीहरुले प्रकाशित गरेको एउटा खुला पत्रमा उल्लेख छ। किशोरीलाई विद्यालय जानबाट रोक्ने कार्य धर्मसँग सम्बन्धित नभएको पनि पत्रमा जनाइएको छ।

‘अफगानिस्तान बालिका र किशोरीलाई शिक्षामा प्रतिबन्ध लगाउने विश्वकै एक मात्र देश हो,’ पत्रमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्